दिएर कसैलाई पनि पुग्दैन

‘काठमाडौँमा ठूलो भुइँचलो आउँछ रे !’ भनेको सुन्दा हाम्रो पालामा नै त नआउला भन्ने लाग्थ्यो तर के थाहा थियो र यो हाम्रै पुस्तालाई चुनौती दिंदै आउँछ भनेर । जमिन हल्लियो, बस्ने घर हल्लियो अन्तत: सबैको मनै हल्लियो । वैशाख १२ गते बिहान ११:५६ मा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको त्यो विनाशकारी प्रलयले । अझै पनि सबैको मन काँपिरहेको छ, दिमाग हल्लिरहेको छ त्यो दिन गएको भूकम्प र त्यसले निम्त्याई रहेको परकम्पनहरुले । धेरैको बस्ने बास उठेको छ, पढ्ने ठाउँ भत्केको छ, आफन्त गुमेको छ तैपनि मान्छे बाँच्न विवश छ । यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै काठमाडौँकै बारीको पाटामा टाँगिएको त्रिपालमा मेरा पनि त्रशित ४ दिनहरु बिते । त्यसपछि म नुवाकोट जहाँ मेरो गाउँको घर भत्किएको थियो त्यहाँ ममी-बुबालाई सहयोग गर्न गएँ । तर जति दिनहरु बित्दै गए त्यति नै मलाई एउटा कुराले सताउथ्यो हामीजस्ता तन्नेरीहरु त यति धेरै त्रशित छौँ, प्रभावित ठाउँतिरका साना बालबालिकाहरु र वृद्दव्रिद्दाहरुको झन् हालत के होला ? हामी त मन डाइभर्ट गर्नको लागि कहिले नेट चलाउथ्यौं, कहिले पत्रपत्रिका हेर्थ्यौं, कहिले किताब पढ्थ्यौं त कहिले के गर्थ्यौं तर विचरा गाउँमा घरसँगै आफ्नो सबै कुरा पुरिएका ती बालबालिका र वृद्दव्रिद्दाहरुले सुरुका दिनहरुमा त केमा आफूलाई डाइभर्ट गर्दा हुन् भन्ने चिन्ताले मलाई सार्है सताउन थाल्यो ।

अनि जहिले हामी आफूले आफूलाई अरुसामु परिचित गराउँदा सक्रिय तन्नेरी भन्न रुचाउने हामी आज देशले यस्तो विपत् भोगिरहेको बेलामा चुप लागेर आफै डराएर बसिरहनु परेकोले आफैलाई एक प्रकारको पछुतो, ग्लानीजस्तो महसुश भइरहेको थियो । तरपनि यसो गर्ने आँट गर्न नस्कनुमा हाम्रो आफ्नै कारणहरु थिए । कुनै साथीको घर भत्किएको त कसैको के भएर भूकम्प लगत्तै हामीले केहि गर्न नसक्नु हाम्रो बाध्यता थियो तर १-२ हप्ता पछि हामी काठमाडौँमा भएका तन्नेरी चासोका साथीहरु मिलेर अब हामीले केहि गर्नुपर्छ भन्ने निधो गर्यौं । सुरुमा हामीले आफ्नै साथीहरुको अस्थाई टहरा बनाउन सहयोग गर्यौं । त्यसपछि बाहिर प्रभावित ठाउँतिर जाने सोच्यौं । अब राहतको लागि समानहरु लिएर जाने त कुरै थिएन किनकि हामीसँग कुनै आर्थिक श्रोत नभएकोले त्यो त हाम्रो ह्याउनै भएन तर हामीमा केहि गरौं भन्ने आँट र जाँगर भने थियो । अन्त्यमा सबैको सुझाव अनुसार हामीले बालबालिकालाई मनोपरामर्श जस्तो कार्यक्रम लिएर नुवाकोटको ३ गाउँ जुन हाम्रै साथीहरुको थियो त्यहाँ जाने निर्णय गर्यौं । हामी आफै पनि विद्यार्थी भएकोले गर्दा यो काम हामीले गर्न सकिने र धेरै खर्च पनि नलाग्ने भएकोले गर्दा विपतमा यस्तो किसिमको सहयोग जसले बालमस्तिष्कमा राहत मिलोस् भन्ने काम गर्ने अठोट गर्यौं ।

यसैबिच हामीले धेरै सुन्दै आईरहेको नामी सामाजिक संघसंस्थाहरु जसले बालबालिकाकोलागि काम गर्छ उनीहरुसँग पनि जानुभन्दा अगाडि एक पटक समन्वय गर्ने प्रयत्न गरौं जसले गर्दा हामी जान लागेको ठाउँमा उनीहरुले पनि केहि सहयोग गर्न सक्नेछन् भन्ने हामीलाई लाग्यो । २-३ वटा संघसंस्थाहरुको लिस्ट आउट गरेर हामी उनीहरुको कार्यालयमा पुग्यौं । हामीले आफ्नो पत्रमा मजाले हामी यसरी फलानो जिल्लाको फलानो गाउँहरुमा बालबालिकालाई भेट्न जादैंछौँ ‘तपाईंहरुसँग त्यस्तो केहि सामाग्रीहरु छन् जो उनीहरुको लागि यस्तो बेलामा राहत हुनसक्छ भए हामी लगेर उनीहरु माझ पुर्याईदिन्छौं किनकि सबै ठाउँमा तपाईंहरु जान सम्भव नहोला’ भनेर उल्लेख गरेका थियौं ।

धेरै संस्थाका पदाधिकारीहरु सायद भूकम्पमा आफूले के गर्ने भनेर पो होला बैठकहरुमा व्यस्त थिए । त्यही भएर होला सायद उनीहरुलाई हामीले २ घण्टा कुर्यौं तर अन्त्यमा उनीहरुले त हाम्रो पत्र पनि नहेरिकन, हाम्रो उद्देश्य पनि नबुझिकन हामीसँग त्यति धेरै आर्थिक सहयोग गर्ने ल्याकत नै छैन भने । मानौं कि हामी त्यहाँ देउसीभैलो खेल्न गएका हौं अथवा चन्दा माग्न । यस्तो नामी संस्थाहरुले सहयोग भनेको मात्र आर्थिक सहयोग बुझेकाले हामी निराश भयौं । कुनै संस्थामा त कति धेरै ख्याद्य सामानहरु (मिनरल वाटर, जुस), बालबालिकाको लागि खेल्ने कुराहरु, त्रिपाल जस्ता सामानहरु सायद राहतको लागि होला टनाटन रहेछ । धेरै भएर हो कि डेट सकिन्छ भनेर त्यहीबाट निकाल्दै कार्यालयका स्टाफहरु भिजिटरहरुलाई समेत पानि र जुस बाँड्दै थिए । तैपनि हामीले उनीहरुले दिएको भूकम्पमा बालबालिकाहरुसँग कसरी डिल गर्ने भन्ने खालको पर्चा र उनीहरुको हेल्पलाईन कार्ड भएपनि लिएर फर्क्यौं । त्यति लिएर फर्कदा पनि सायद राहतको सामान लग्छ कि भनेर हो कि संस्थाको नियमनै हो गेटमा बस्नेले हाम्रो झोला चेक गरिरहेथ्यो । त्यतिबेला महसुश भईरहेथ्यो हामी कुनै सामाजिक संस्थाबाट निस्केको हो कि कुनै व्यपारिक प्रयोजनका लागि खोलिएको ठाउँबाट जहाँ जहिले सामान लग्छ कि भनेर चेक गर्ने गरिन्छ । तैपनि हामी दु:ख मन नगरी फर्क्यौं किनकि त्यो हाम्रो लागि एउटा नसोचिएको अनुभव संगाल्ने अवसर बन्यो ।

यसपछि हामीले नाम चलेकै अर्को संस्थामा फोन गर्यौं । फोन ३-४ जना हुँदै सायद मुख्य व्यक्तिकोमा होला अन्तत: पास भयो । अनि उनीसँग हामीले हाम्रो उद्देश्य र कार्यक्रमको बारेमा प्रष्ट गर्यौं । प्रतिउत्तरमा उनले हामीलाई जानकारी गराए कि नुवाकोट उनीहरुको कार्यछेत्र भएकोले उनीहरु सरकारसँग मिलेर हुन्छ या आफै त्यो जिल्लाका स्कूलहरुमा पाठ्यपुस्तक पठाउने प्लान गर्दैछन् । ६-७ महिनै लागेपनि उनीहरु अरुसँग समन्वय नगरी आफ्नै तरिकाले सामग्रीहरु पुर्याउनेछन् । ठिकै छ जसले गरे पनि गर्ने हो पुगे भईहाल्यो नि भनेर हामीले फोन राखीदियौं । अचम्म लागेको चाहिं त्यत्रो ठूलो संस्थाले हामीलाई पो आफ्नो प्रतिस्पर्धी ठानेछन् कि के हो नत्र त राम्ररी कुरा गरेर ‘तपाईंहरु पुग्न लागेको ठाउँमा हामी पछि पुगेपनि तपाईंहरु समुदायमै पुग्न लागेकोले हामीसँग धेरै सामग्री नभएपनि केहि लानु अथवा अहिले हामी आफै गरिरहेकोले पछि केहि गरौंला’ त भन्न सकिन्थ्यो कि ? तर ठिकै छ त्यो पनि हाम्रो लागि अर्को सिकाई भयो ।

यही क्रममा अब हामी आफैले केहि सामाग्रीहरु भएपनि बालबालिकाको लागि बरु १०-१५ वटा जति किताब नै भएपनि लगौं न भनेर एउटा पुस्तक पसलमा गएका थियौं । त्यहाँ हामीले राम्रो कारणको लागि पुस्तक किनेको देखेर व्यापारिक प्रयोजनको लागि खोलिएको पुस्तक पसलेले भने हामीलाई ‘ती बालबालिकाहरुमाझ हामी नपुगेपनि तपाईंहरु पुग्न लाग्नु भएको रहेछ हाम्रो तर्फबाट पनि पुर्याईदिनुस्’ भनेर केहि बाल-किताबहरु सित्तैमा दिए र केहिमा धेरै छुट पनि दिएर ती बालबालिकाहरुलाई अप्रत्यक्ष रुपमा भए पनि सहयोग गरे ।

यसको साथै भुकम्पमा बालबालिका मैत्रीपूर्ण काम गरिरहेको अर्को अन्तराष्ट्रिय संस्थाले भने हाम्रो कुरा सुनेर उनीहरुसँग भएको हामीलाई बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने बारे केहि उपयोगी सामग्रीहरु दिनुका साथै जिल्लामा जाँदा केहि अप्ठ्यारो परेमा उनीहरुको सोहि जिल्लामा रहेको प्रतिनिधिसँग सम्पर्क गर्न पनि सल्लाह दिए अनि हामीलाई हौसला पनि दिए । यसरी हामीले जिनतिन आफ्नो तर्फबाट जाने तयारी गर्यौं र भोलिपल्ट जेठ ९ गते बिहानै काठमाडौंबाट नुवाकोटको लागि प्रस्थान गर्यौं ।

यो यात्रा हामीले भूकम्पबाट प्रभावित बालबालिकाहरुको मुहारमा हाँसो ल्याउने उद्देश्यले गर्न लागिएकोले हामीले यसको नाउँ ‘A Journey for Smile’  दियौं । यो यात्रा एक त तन्नेरीहरुले आफ्नो देशको लागि गरेको एउटा सानो योगदान थियो भने अर्को हामी विद्यार्थीको लागि एउटा रिसर्च जस्तो पनि थियो जिल्लातिरको गतिविधि बुझ्ने । हामी ३ दिन गरेर नुवाकोटको ३ ठाउँहरु गेर्खु ग.वि.स.मा पर्ने भैंसे, तुप्चे ग.वि.स. मा पर्ने रातमाटे र विदुर नगरपालिकाको माझीगाउँमा ३-३ घण्टाको कार्यक्रम गर्यौं । हामी त्यही गाउँमै साथीको परिवारहरुसँग बासबसेकोले गर्दा हामीलाई त्यहाँको वर्तमान वस्तुस्थिति थाहा पाउन झन् सजिलो भयो । संचारमाध्यममा ‘राहत’ शब्दले चर्चा पाईरहेको बेला गाउँतिर राहतको अवस्था कस्तो रहेछ त भनेर बुझ्दा रातमाटेमा एउटा बाले सुनाउनुभएको ‘हाम्रोमा राहत नआएको हैन ! आउन त आईराछ तर अस्ति लिएको राहतको चामल चैं खान लायक छैन, जाँड पनि बनाउने खालको नभएकोले हामीले त वस्तुभाउलाई दिने गरेका छौँ’’ भन्नुहुन्थ्यो ।

हामी ठूलो भूकम्प गएको करिब १ महिनापछि अति प्रभावित भनिएको जिल्ला नुवाकोट पुग्दा धेरै ठाउँहरुमा लगभग अस्थाई टहराहरु बनिसकेका थिए भने कतै बन्ने क्रममा थिए । खाने कुराको त्यति धेरै अभाव थिएन जिनतिन अन्न झिक्न सक्नेहरुले गाउँमै मिल चलेकोले चामल, पिठो कुटेर-पिनेर खान थालिसकेका थिए । काठमाडौँमा त लगभग धेरै ठाउँमा बालबालिका मैत्री कार्यक्रमहरु धेरै भईरहेको थियो तर बाहिर जिल्लाहरुमा भने कतै कतै शहरतिर नत्र गाउँतिर भने खासै राहतका कार्यक्रम बाहेक यस्ता कार्यक्रमहरु नपुगेकोले गर्दा पनि हाम्रो कार्यक्रमलाई धेरैले रुचाए अनि प्राय: सबै ठाउँमा अभिभावकहरु पनि हाम्रो कार्यक्रममा आफ्नो बालबालिकाहरुसँग हामीसंगै रमाए । गाउँका युवाहरुले पनि हामीलाई धेरै सहयोग गरे ।

गाउँतिर खै किन हो कुन्नि राहत भन्नासाथ एनजीओ, आईएनजीओ भन्ने बुझ्छन् कि के हो हामीलाई धेरैले कुन एनजीओबाट तपाईंहरु भन्ने गर्थे । सायद एनजीओ, आईएनजीओको फ्लो गाउँतिर सरकारी निकायकोभन्दा पनि धेरै भएर होला त्यतातिर सहयोग भन्नासाथ यस्तो बुझ्न थालेको ।

हामी यात्राको क्रममा जानुपर्ने एउटा गाउँ रातमाटे जाँदा हामीले सायद वर्षा मौसम भएर पनि होला साँझ ठूलो हुरीबतास र पानीको सामना गर्नुपर्यो । गाउँतिर भूकम्पले आत्तिएको मन यो मौसममा आईरहने डरलाग्दो हुरीबतास र पानीले झन् जनजीवन भयावह बनाएको थियो । कतै टहरा बनेकाको जस्ता उडाउला भन्ने डर, नबनेकाहरुको त्रिपालनै उडाउला भन्ने चिन्ता, कतै पुरानो जस्ता प्रयोग गरेकोले जिउँतिउँ बनेका टहराहरुमा पानी चुहिने पिडा । बल्ल बल्ल भूकम्पबाट जोगिएका बालबच्चा, जहान र गाईबाख्रा जोगाउन हम्मेहम्मे परिरहेका थिए धेरैलाई ।

भूकम्प गएताका हामीले तत्कालै मानिसहरुलाई हिम्मत दिनको लागि सामाजिक संजालमा एउटा फोटो चलाएका थियौं ‘घर ढले पनि आत्मविश्वास ढलेको छैन’ भन्ने वाक्यको वास्तविक दृश्य हामीले त्यहाँ भेट्यौं । यस्तो विपतमा  पनि मानिसहरु हिम्मतले एकले अर्कोलाई सम्हाल्ने प्रयत्न गरिरहेका थिए चाहे त्यो बच्चाले आमालाई होस्, दाजुले बहिनीलाई या आमाबाबा ले बच्चाबच्चीलाई । यस्तो परिस्थितिमा पनि एउटा आमाले हामीलाई त्यस्तो हुरीबतासमा उकालो नलाग्न सुझाव दिनुका साथै उनीहरुको त्रिपाल र जस्ताको टहरामा हुरीबतास नरोकिउन्जेल ओत लाग्न आग्रह गरिन् । हामी पनि उनीहरुसँगै हावाले उडाउन लागेको त्रिपाल र जस्ता समाएर बस्यौं हुरीबतास नथामिउन्जेलसम्म । त्यसपछि रातमाटे जाने क्रममा फेरि उकालो लाग्दा ठूलो पानीले हामीलाई रुझायो । १ घण्टा जतिको उकालो उक्लिरहँदा हामीलाई एउटी स्थानीय दिदीले ‘यस्तो पानीमा एक छिन ओत लाग्न’ उनीहरुले बस्न तयार गरिरहेको टहरामा पराल बिछ्याइएदिएर आफ्नोपन जनाउँदा हामी नेपालीलाई त्यतिकै महान् भनेका त होइन रहेछन् जस्तो लाग्यो । भूकम्पले जमिन हल्लाए पनि हाम्रो मौलिकता र भातृत्व अझै डगमगाएको रहेनछ भन्ने साँचो अर्थमा महसुश भयो ।A journey for smile

यसैगरि माझीगाउँमा भने हामीले गरेको कार्यक्रममा विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापक पनि उपस्थित थिए । प्राय: उनले विद्यालय भत्किएर बालबालिकाहरु घरमै बराली रहेकोले विद्यालय कसरी पुनः संचालन गर्ने भनेर जिल्ला शिक्षा अधिकारी कहाँ सोध्न जाँदा शिक्षा कार्यालयले अब केहि दिनमा त्रिपाल दिन्छ त्यसमै राखेर पढाउने त भनेको तर कसरी पढाउने, के गरेर पढाउने अन्योल भईरहेको बेला हामीले बालबालिकाहरुको लागि प्रयोग गरेको माध्यमहरु प्रभावकारी भएको र यसले उनलाई पनि नयाँ तरिका सुझाएको बताएर हामीलाई पढेका मान्छेहरुसँग साँचीनै धेरै ज्ञान हुन्छ भने । भन्न खोजेको यस्तो बेला खाली सामानको रुपमा मात्र राहत दिनुलाई राहत नसोचौं तपाईंको सिर्जनात्मक  सोँच, सल्लाहले पनि यस्तो बेलामा राहतको काम गर्न सक्छ ।

A journey for smile SAM_0263 SAM_0267

उकाली ओराली, हुरीबतास-झरी केहि नभनी हामीले ३ ठाउँका बालबालिकाहरुसँग हाँसी, खेली, गाई, नाची, चित्र कोरी बितायौं । कति ठाउँमा भूकम्पमा पुरिएका बालबालिकाहरुलाई हसाउँन सफल भयौं भने कति ठाउँमा ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाईलो’ भन्दै कम्मर मर्कायौँ त कति ठाउँमा बाल मस्तिष्कले कोरेका चित्रहरु देखेर ट्वाँ पर्यौं ।

A journey for smile DSC_0429 DSC_0457 SAM_0194

साँचीनै हो दिएर कसैलाई पनि पुग्दैन । हामीले त घर भत्कदा धेरैका कापी-कलम पुरिएर पढ्न नसकिरहेको अवस्थामा फेरि क,ख,ग,घ लाई स्मरण गराउँदै बालमष्तिस्कलाई भूकम्पको भयबाट सुरुमा भने जस्तै डाइभर्ट गर्ने एउटा आफूले सकेको कोशिश गर्यौं, एउटा सानो सुरुवात गर्यौं । यदि सबैले सामानको रुपमा बाँडिने राहतको पछि मात्र नलागेर आफू जुन-जुन छेत्रमा छन् त्यो-त्यो क्षेत्रबाट मात्रै आफ्नो बेस्ट दिनसकियो भने सायद त्यो नै आहतमा सबैभन्दा ठूलो राहत हुनेथियो कि ?

यी सबै कुराहरु भन्नुको उद्देश्य कदापी कसैलाई गालीगलौज गर्नु होइन बरु यस्तो अनुभवहरु सेयर गर्यौं भने भोलि यी कुराहरुलाई सबैले मनन गरेमा आफूलाई सच्याउने एउटा मौका पनि हो यो र सबैले मिलेर काम पनि गर्न सकिनेछ भन्ने हो ।

अन्त्यमा, मेरो अनुभवको आधारमा म के भन्न चाहन्छु भने अहिलेको अवस्थामा धेरै संघसंस्थाहरुले सहयोग भन्ने बित्तिकै फण्डलाई बुझ्ने गरेका रहेछन् जुन मानसिकतामा परिवर्तन हुनुपर्छ अनि मात्र खुला रुपले आफ्नो रिसोर्सेजहरु आवश्यक परेको ठाउँमा बेलैमा पुर्याउन सकिन्छ । कुन कुन ठाउँमा के-कस्तो कुराको आवश्यकता छ भन्ने कुरा रिसर्च नै नगरी अफिसको गोदाममा सामान थुपार्दैमा त्यो राहत हुँदैन । बरु त्यसको साटो संघसंस्थाहरुले आफ्नो-आफ्नो छेत्रबाट सकेको योगदान गरे यो फण्डिंगको, आडिसको अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्दैन थियो कि ? अनि मात्र हाम्रो पुस्ताले तपाईंहरुबाट केहि सिक्ने अवसर पाउथ्यो कि ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s