मुख्य सचिवज्यू, कतै हाम्रो पुस्ता अभियानमै मात्र सिमित हुने त होइन ?

शनिबार शनिबार मुख्य सचिव लीलामणि पौड्यालले सुरु गर्नु भएको बागमती सरसफाईको १०० भन्दा पनि बढि हप्ताहरु बितिसक्यो । त्यसकै निरन्तरता स्वरूप हो कि के हो गत हप्ता मात्रै विष्णुमति सरसफाई अभियानको पनि ५० औं हप्ता मनाईयो । अझ गणितीय हिसाबले भन्नुपर्दा त आजसम्म गरेर त ५१ हप्तामा पनि प्रवेश भयो यो अभियान । यत्रो भूकम्प पछि पनि यसले निरन्तरता पाईरहनु यसको राम्रो पक्ष हो ।

बागमती सरसफाईको १ सयौं हप्ताको मानव साङ्लोमा म पनि सहभागी थिएँ किनकि त्यतिबेला मलाई लागेथ्यो देश पुरै जुटेर लागेको छ बागमतीको पुनःनिर्माणमा भने म किन घरमा सुतेर बस्ने । सायद त्यतिबेला मैले आम नागरिकलेझैँ बागमती सरसफाईको अभियानलाई हेरेको रहेछु किनकि विष्णुमतीको अभियानमा जाँदा मैले एकदम पृथक कोणबाट यी अभियानहरुलाई नियालें ।

हुन त कसैले नगरेको बेलामा कसैले गर्दा त्यो धेरै नै गरेको हुन्छ, यो मानवीय प्रवृति नै हो । त्यसबाट हामी पनि अछुतो रहन सक्दैनौं । मुख्य सचिवज्यूको यो अभियानको चौतर्फी चर्चा हुनुमा पनि सायद यही प्रवृति हावी भएको हुनसक्छ ।

भन्नुको तात्पर्य यी अभियानहरु सकारात्मक उद्देश्यका साथ सुरु गरिएको हो र यसले आजको दिनसम्म १-२ हुँदै यत्रो हप्तासम्म निरन्तरता पाईरहनु आफैमा गौरवान्वित कुरा हो । अझ त्योभन्दा पनि महत्वपूर्ण यसमा विभिन्न तन्नेरी समूह र संजालहरुको सामूहिक एक्यवद्दता छ यो अभियान सफल बनाउनुमा । मलाई गर्व छ कि म आजको पुस्ताको तन्नेरी हुँ तर कहिलेकाहीँ म आफैसँग प्रश्न पनि गर्न बाध्य हुन्छु ‘के हाम्रो पुस्ता यस्तै अभियानमा मात्रै सिमित हुने त होइन ?’ हुन त भनिन्छ केहि पाउनको लागि केहि गुमाउनु पर्छ रे ! तर के सधैं हामीले मात्र गुमाउनु पर्ने हो र ? कहिले संक्रमणकालीन युगका पुस्ता भनिनुपरिएको छ त कहिले के ।

आफ्नो ठाउँ स्वच्छ र सफा राख्नु हामी सबैको नैतिक कर्तव्य हो र अझ हामी जस्तो वौद्धिक नागरिकको त महत्वपूर्ण जिम्मेवारी पनि हो । विष्णुमतीको सरसफाईबाट फर्के पछि किन हो किन मलाई त्यो गर्नको लागि मात्र गरिएको जस्तो महसुश भईरहेछ । विद्यालय पोशाकमा स्कुले बालबालिकाहरु, कलेजका जवानहरु, विभिन्न संस्थालाई प्रतिनिधित्व गरेर आएका व्यक्तिहरु र सरकारका सचिव र अन्य कर्मचारीहरुको साथै प्रहरीहरुको भरपुर उपस्थिति बिच मैले यो सरसफाई अभियानमा स्थानीयको कमी भने धेरै न्यून पाएँ ।

Bishnumati SAM_0555

हुन त यो सरसफाई नयाँ बसपार्कको पुलमुनी गरिएकोले सायद यसमा ‘यो मेरो लागि पनि हो’ भन्ने भान धेरैमा कम भएको हुनसक्छ । किनकि हामी नेपालीको एउटा समान बानी छ आफ्नो घरको कम्पाउण्ड चाहिं एकदम सफा राख्नुपर्ने किनकि त्यो मेरो हो तर आफू हिँड्ने सडक, वरिपरिको खोलानाला, ठाउँहरुभने जे सुकै हुन् मतलब छैन बरु नाक थुनेरै ‘छि: कस्तो फोहोर’ भन्दै हिँडिन्छ तर यसलाई सफा राख्ने हामी सबैको जिम्मेवारी हो भन्ने बिर्सन्छौँ किनकि त्यो सार्वजनिक ठाउँ हो नि त ! सायद यो पनि एउटा कारण हुन सक्छ विष्णुमति सरसफाईमा पनि । त्यहाँ स्थानीय बासिन्दाको त कुरै छोडौं त्यहाँ त्यही परिसरमै पसल राख्नेहरु चाहे त्यो मलको होस्, मिनीमार्केट (छाप्रो पसल) को होस् या फुटपाथमा पसल राख्नेहरु होस् सबैजना ‘यो मेरो काम गर्ने थलो हो । यो अरुले सफागर्नुभन्दा पनि मैले गर्नुपर्छ नत्र हानी मलाई धेरै छ’ भनेर त्यहाँ स्वइच्छाले समावेश हुनेहरु निकै कम थिए । उल्टै त्यहाँ एकजना आमा जो त्यहीँ पुलमा पसल गर्नुहुन्छ उहाँ गुनासो गर्दै हुनुहुन्थ्यो ‘खाली त्यता मात्रै सफा गर्छन् यता कोहि आउदैनन्’ सुनेर अचम्म लाग्यो । भन्नुको तात्पर्य कतै यस्तो हप्ते अभियानले स्थानीयहरुलाई परनिर्भर त बनाईरहेको छैन ।

त्योभन्दा पनि रमाईलो दृश्य त अभियन्ताहरुको एक समूह चाहिं कान्तिपुर मल अगाडिको सानो मिनी मार्केट (छाप्रो पसल) हरुबाट फोहोर निकाल्न व्यस्त थिए । मानौं कि व्यक्तिको पसलको फोहोर उठाईदिन पनि अब अरु मान्छेहरु आइदिनु पर्ने भो । म त जाने बेलामा सबै जना विष्णुमतीको किनारमा हुने होला भनेर गएको त आधि जस्तोलाई त त्यही छाप्रो पसलहरुको अगाडि देखेर म त सुरुमा अचम्मित भएँ तर लाग्यो धेरै फोहोर त त्यहीबाट निस्कने होला सायद त्यही भएर त्यहाँ पनि गर्दैछन् । ठिकै हो अरु बेला नगरपालिकाको गाडी कहिल्यै समयमा फोहोर लिन आएको देखिन्न तर त्यो शनिबार भने कति धेरै वटा गाडी आएको थियो । अब खाली गाडी त लाज हुन्छ सरसफाई अभियान भनिसकेपछि फोहोरको डङ्गुर त देखिनै पर्यो । वर्षाको भेलले गरेर सधैं पानीभन्दा फोहोरको थुप्रो धेरै देखिने विष्णुमतिमा अहिले ती फोहोरहरु सब पुरिएको छ अनि नदीमा फोहोर नदेखेपछि के गरोस् विचाराहरुले पनि !

Bishnumati SAM_0548

साँची भन्नुपर्दा विष्णुमतीको सरसफाई अभियान ५० औं हप्ता पुगिसकेको रहेछ मलाई त थाहै थिएन । यो मेरै गल्ति हुनसक्छ बागमती सरसफाई अभियान चलिरहँदा विष्णुमति पनि कसरी सफा गर्ने होला भनेर म दिनहुँ चिन्तित हुने भएपनि मैले यसमा भने चासो देखाएको रहेनछु । यस्तो सोंच मेरो मस्तिष्कमा आइरहनुको कारण म जहिले प्राय: दिनको २ पटक त्यही विष्णुमतिकै बाटो हिँड्छु । तर जब मैले यो फेसबुकबाट थाहा पाएँ म त एकछिन स्तब्ध भएँ । कारण थियो ५० हप्ता भनेको त धेरै हो केहि न केहि त प्रगति हुनुपर्ने हो । म यो ५० हप्ताको दौरान पनि त्यो बाटो नहिडेको त होइन होला तर मैले त कहिले फरक महसुश गरिन । सायद गरेको भए पक्का थाहा हुनेथियो यस बारेमा । धन्यवाद ती तन्नेरी साथीहरु जसले मलाई पनि फेसबुकमा निमन्त्रणा पठाएका रहेछन् अभियानमा समावेश हुनको लागि ।

यस्तो किसिमको अभियान अब अलिक पारम्पारिक भएन र ? आखिर कहिलेसम्म स्कुले पोशाकमा बालबालिकाहरुलाई सरसफाईको लागि प्रयोग गरिने ? आखिर कहिलेसम्म पोलिसी बनाउन बसेका सरकारी कर्मचारीहरु र परिआए राजनीतिज्ञहरु फोहोर उठाउन हिड्ने ? हुन त यो एउटा सांकेतिक अभियान होला तपाईंहरुको मानेमा तर आखिर सांकेतिक अभियानहरु कहिलेसम्म ? हामी स्कुलमा हुँदा पनि यस्तै हुन्थ्यो अहिले म मास्टर्स गरिरहँदा पनि तरिका त्यही नै छ । भनेपछि यस्तो कुराहरुमा आखिर कहिलेसम्म अल्झीरहने ? सम्वन्धित निकायमा भएकाहरुले एक्शन पोलिसीहरु बनाउने बेला आएन सचिवज्यू ? सुन्दै थिएँ अब तपाईंको कार्यकाल पनि सकिन आँट्यो रे ! त के अब यत्रो हप्ताको जनसहभागिता मात्रै तपाईंको मानवसाङ्लोको चर्चे इतिहासमा सिमित हुने त होइन ?

मैले यति धेरै  भूमिका बाँधी रहनुको उद्देश्य म यस अभियानको विरुद्ध भने होइन । यो अभियान  राम्रो हो, तारिफयोग्य छ । तर मेरो व्यक्तिगत तर्फबाट आयोजकहरुलाई केहि आग्रह अथवा सुझाव भने पक्कै छ । हरेक शनिबार २-३ घण्टा विभिन्न ठाउँबाट मानिसहरु जम्मा भएर यसो गर्नुभन्दा पनि स्थानीय स्तरमै गएर स्थानीयलाई सचेत बनाएर उनीहरुलाईनै आफ्नो वरिपरी सफा गर्न प्रेरित गर्ने पो हो कि जसले गर्दा यसले केहि हप्ताभन्दा पनि पछिसम्म स्थानीय स्तरमै निरन्तरता पाईरहोस् ? हुन त धेरैजसो मानिसहरु सचेत नै छन् यो बारेमा तर के गर्नु नगरपालिकाले समयमा फोहोर लिन आइदिदैन अनि विकल्प के त ? गनाएर बस्नुभन्दा सायद नदीमै फाल्न रुचाउछन् होला । अनि अर्को कुरा खासै फोहोर नफाल्दा पनि नदि सफा कहाँ नै हो र ? सायद अभियान बसपार्कको पुलमुनि मात्रै सिमित भएको भएर होला त्यो भन्दा अलिक माथिको बुद्धज्योति मार्ग अथवा चिन्नको लागि दिपज्योति को पारीखोलामा घरको ढल त्यही मिसाईएको त सायद सचिवज्यूहरुले देख्नु भएन होला ?

Bishnumati SAM_0558 SAM_0561

त्यसैले जहिलेसम्म सरकारले ढलको व्यवस्था गर्दैन, नगरपालिकाले समयमा फोहोर उठाउदैन, नगरपालिकालाई नै फोहोर दिने नियम कडाईका साथ लागु गर्दैन, उठाएको फोहोरको उचित व्यवस्थापन गर्दैन, सार्वजनिक स्थानहरुको जिम्मेवार निकायले बेलाबेलामा अनुगमन गरिरहदैन जतिसुकै हप्ता बितेपनि उही कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै हुन्छ । यथार्थमा भन्नुपर्दा यी हप्ते अभियानहरु व्यर्थ छन् । यी सबै भनिरहनुको उद्देश्य कसैलाई व्यक्तिगत गालीगलौज गर्नु कदापी होइन तर यस्तो आवाजहरु कतै न कतैबाट आखिर उठ्नु जरुरि छ । सम्वन्धित निकायहरुलाई पनि कुनै फेजमा सच्याउनु जरुरि छ, जवाफदेही बनाउनु आवश्यक छ र मलाई लाग्छ त्यो काम हामी जस्तै सचेत तन्नेरीको, जागरुक नागरिकको हो ।

अन्त्यमा, आयोजकज्यू, तपाईंहरुले भनेजस्तै ‘अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?’ साँचीनै अहिलेनै नेतृत्वले नियम-कानुन नबनाए, व्यवस्थाहरु नगरे आखिर कहिले गर्ने ? अनि सम्वन्धित निकायले नै अहिलेदेखि गर्न सुरु नगरे आखिर कसले गर्ने ? नआत्तिनुहोस् नियम तपाईंहरु बनाउनुहोस्, कानुन तपाईंहरु ल्याउनुहोस् त्यसलाई लागू गर्ने काम हामी गर्छौं सचिवज्यू !

(विशेषगरी हालै मनाईएको विष्णुमति सरसफाई अभियानको ५० औं हप्तालाई प्राथामिकतामा राखेर लेखिएको )

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s