नाकाबन्दीको वार्षिकीमा सिक्नुपर्ने पाठ

पोहोर साल यतिबेला देश चरम अभावको रापमा पिल्सिरहेको थियो । भारतको नाकाबन्दीले जनजीवन एकदमै कष्टकर बन्दै थियो । नागरिकको भान्सामा खाना पकाउने ग्यास थिएन, त्यसको विकल्पको मट्टीतेल, दाउराको पनि अभाव, आवतजावत गर्नुपर्यो सवारीसाधनमा पेट्रोल/डिजेल थिएन, नाकाबाट सामान आउन नसकेर बजार भाउ छोईसक्नु थिएन । मौसम त चाडबाडको थियो चारैतिर तर अभावले मानिसहरुमा कुनै उत्साह थिएन, उमँग थिएन, हर्ष थिएन । बाध्यताको चाडबाड भयो सबै समुदायको लागि २०७२ । के दशैं, के दिपावली, के छठ, के ईद सबै चाडपर्व राजनीतिले छिट्टै गति लिओस् भन्दै बित्यो सम्भवतः हरेक जातजाती, समुदायको लागि ।

एक प्रकारको पीडा थियो सबैमा अभावको । अनि राजनीतिक आक्रोस पनि त्यस्तै थियो चाहे त्यो मधेशलाई काठमाडौंको सरकारसँग या काठमाडौंलाई मधेश केन्द्रित दलसँग । कारण फरक फरक भएता पनि सायद पीडा उस्तै थियो सबैतिरका नागरिकमा । कतै भूकम्पले टुक्रिएको मनमा अभावको दर्द थियो भने कतै बन्द र अभावको त्रासमा जनजीवन दिनानुदिन त्रसित हुँदैथियो । यसो हुँदा कष्टपूर्ण जनजीवनले पक्कै पनि एकअर्कामा दोषारोपण गर्नु स्वभाविकै हो तर राजनीति गर्नेहरुले भने वाहियात कारणहरु देखाएर नागरिकहरुमा विभाजन र वैमनस्यता सिर्जना गर्न खोज्नु कत्तिको जायज थियो त्यो हामीले सोच्नैपर्छ ।

पक्कै पनि ठूलाठूला अर्थ र परिभाषा खोज्दै जाने हो भने राजनीति आखिरमा के हो त भनेर बुझ्न तपाईं – हामी जस्तो सामान्य मान्छेलाई गार्हो हुनसक्छ । त्यसैले यसलाई सामान्य अर्थबाट बुझौं किनकि हामी आम नागरिक हौँ । हामीलाई राजनीतिका ठेलीका ठेली पुस्तकको परिभाषा जान्नु छैन । बरु राजनीतिले हाम्रो दैनिक जीवनमा पारेको प्रभावसँग हाम्रो सरोकार हुनुपर्छ । राजनीति भनेको देश र नागरिकको हितमा गरिने एउटा राज्यको नीति हो जसको जिम्मेवारी हाम्रो राजनीतिक दल र नेताहरुले लिएको हुन्छ । त्यसैले त हामीले भोट दिएर उनीहरुलाई हाम्रो नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन्छौं तर विगतका अनुभवलाई विश्लेषण गर्ने हो भने – के राजनीतिले हाम्रो हितको लागि काम गर्यो त ? के नेताले कुशल नेतृत्व गर्न सक्यो त ? यो प्रश्न सबै नागरिकहरुको मानसपटलमा अझै पनि घेरिएको हुनुपर्छ ।

हुन त हाम्रोमा राजनीतिक अस्थिरता गतवर्षको मात्रै उदाहरण होइन । प्राय: हामी सबैले जन्मेदेखि नै यस्तै देख्दैछौँ, भोग्दैछौँ तर गतवर्षको राजनीतिक उथलपुथल देशकै इतिहासमा राजनीतिक अपरिपक्वताको एउटा ठुलो उदाहरण बन्यो ।

वास्तवमा भन्ने हो भने राजनीति आफैमा खराब कहिल्यै होइन । बरु राजनीति गर्ने मान्छेमा भरपर्छ कि यसलाई खराब बनाउने कि असल बनाउने भन्नेमा । हाम्रो देशको पनि राजनीति कहिल्यै खराब थिएन र होइन पनि । खराब त हाम्रो राजनीति गर्नेहरुको प्रवृति र नियतमा हो । भलेही यसमा कुनै वैज्ञानिक कारणहरु नहोला तर सोचौं त एकपटक तपाईं – म राजनीतिमा किन छैनौँ किनकि हामी आम मान्छेलाई आफ्नो घर व्यवहार चलाउनुपर्ने हुन्छ । हामी आफ्नो भविष्य सुरक्षित गर्नतर्फ लाग्नुपर्ने बाध्यता छ । त्यसैले त हामी हाम्रो लागि नेता चुन्छौँ । तर दुर्भाग्य हामीले चुनेका नेतृत्वमा राष्ट्रप्रतिको इमान्दारिता र दूरदर्शिता कहिल्यै पाएनौं । यो होइन कि समस्या आएपछि मात्र त्यसको चिन्ता गर्नुपर्छ झन् राजनीति गर्नेमा त यो कुराको बहाना कदापी चल्दैन ।

अघोषित नाकाबन्दीको बेला जुन किसिमले भ्रम फैलाईए पनि यथार्थ यो हो कि काठमाडौंले मधेशलाई कहिल्यै दोष लगाएको थिएन, हेपेको पनि थिएन । पहिले जसरी मधेशलाई हेरिन्थ्यो त्यस्तै नै थियो । समबन्धमा कुनै खटपट थिएन तर राजनीति गर्नेहरुले हामीलाई अल्मल्याईदियो र हामी पनि नराम्ररी अल्मलियौं । नेपाली राजनीतिले निम्त्याएको त्यो विभाजनको शिकार हामी नजानिदो पाराले हुन विवश भयौं । काठमाडौंको चासो त भारतको नाकाबन्दीसँग थियो, राजनीति गर्नेको हेलचेक्र्याइँमा थियो चाहे त्यो सत्तापक्ष होस्, प्रतिपक्ष होस् या आन्दोलनरत पक्ष ।

झन्डै ६ महिनासम्म चलेको भारतको नाकाबन्दीमा म मधेश केन्द्रित दललाई मात्र दोष दिन्न । यस्तो वातावारण सिर्जना गर्नुमा सत्तापक्ष पनि उतिनै जिम्मेवार छन् । सरकार पक्षले पनि सुरुदेखि नै मधेशका असन्तुष्टिका कुरा कसरी सुल्झाउने भन्नेमा समयमै सिरियस हुनुपर्थ्यो । यदि उनीहरुको माग जायज छ भने समयमै राजनीतिक तवरबाट सम्बोधन गरिनुपर्थ्यो । यदि छैन भने त्यहाँका नागरिकलाई बुझाउन ढिलाई गरिनु हुँदैन थियो । राजनीति भनेको ठूलाठूला शब्दहरु राखेर र मन्त्रमुग्ध पार्ने तर्कहरु दिई भाषण गर्नु मात्र होइन । आम नागरिकले उनीहरुले भन्न खोजेको कुरा बुझ्न सकिएन भने त्यो राज्यको नीति कसरी हुनसक्ला ? आखिर राज्यमा नागरिक पर्दैन र ? अनि नागरिक नै अल्मलिने खालको राज्यको नीति कस्तो हो ? राज्यले खडा गरेको दुरी होइन यो । राजनीति गर्नेहरुले खडा गरेको दुरी हो जसमा नागरिक अलमलिनु हुँदैन । आफ्नो अधिकार र कर्तव्य प्रति नागरिक आफै सजग हुनुपर्छ नभए प्रयत्न गर्नुपर्छ । अरुबाट सजग हुन खोजिनु हुँदैन । नत्र देश फेरि कति वर्ष पछि फर्कला भनेर यतिकै भन्न सकिन्न । नेतृत्व सबै कुरामा सहि हुन्छन् भन्ने छैन । मान्छे हो कहिलेकाही गलत पनि हुनसक्छ । त्यस्तो बेला हामीले उनीहरुलाई सजग गराउनुपर्छ । त्यो हाम्रो कर्तव्य हो, हाम्रो भोटको सम्मान हो ।

हुन त यी कुराहरु सामान्य लाग्लान् धेरैलाई तर यस्तै कुराहरुको बेवास्ताले निम्त्याएको हो नेपाली इतिहासमा पोहोर सालको राजनीतिक अपरिपक्वता । यसले भारतलाई के नाफा भयो के नोक्सान भयो त्यसको गणितीय क्यालकुलेसनमा अब नजाऔं । बरु त्यसले हामीलाई के घाटा भयो, हामीले के सिक्यौं भन्ने तिर अबको बहस केन्द्रित हुनुपर्छ चाहे त्यो मधेशमा होस् या पहाडमा । स्मरण रहोस् यी दुबै ठाउँका नागरिकहरु कोहि भारतीय पनि होइनन्, कोहि एलियन पनि होइनन् । आखिर सबै नेपाली नै हुन्, परिचय नेपाली नै हो, यहींकै माटोमा हाम्रो घर छ भने किन कोलाहल मच्चाउनु, किन एकले अर्कालाई दु:ख दिनु, किन आफ्नो दैनिकी कष्टकर बनाउनु, किन रमिता देखाउनु । बरु एकले अर्काको भावना बुझौं, समस्याको बारेमा बोलौं, कहाँ के निर गडबड छ एकअर्काको आवाज बनौं, एकअर्काको शक्ति बनौं । भूकम्पले भत्किएको पहाड र लामो आन्दोलनले थलिएको मधेशलाईसँगै अगाडि बढाउने प्रतिवद्दता गरौँ नाकाबन्दीको वर्षदिनको यो संघारमा । अहिले पनि हामीले यो पाठ सिकेनौं भने यो हाम्रो जीवनकालमै सम्भव छैन । कसले कहाँ गल्ती गर्यो, के गर्यो भन्नेतिर लागेर समय खेर नफालौं ।

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s